Pages

Thursday, September 3, 2015

प्रधानमन्त्रीलाई खुल्ला पत्र: मेडिकल माफिया र सभासदीय अख्तियार दुरुपयोगको चरम नमुना #IamwithDrKC


प्रिय प्रधानमन्त्री शुशिल कोईराला ज्यू,

म यहि देशको एक नागरिक हुँ जहाँ डा. गोविन्द केसी जस्ता जिवन नै जनताको नाममा समर्पित गरेका डाक्टर बस्दछन्।

म आफै पनि एक स्वास्थ्य लापरवाहीको शिकार भईसकेको पिडित हुँ। यसर्थ हिजो संसदीय समितीमा डा. केदारभक्त माथेमाले भन्नुभए जस्तै, "कुनै नर्सले सातचोटिमा पनि एउटा सुई छिराउन सकेन भने के हुन्छ?" भन्ने पिडासँग अवगत छु।

पछिल्लो परिस्थितीमा डा. केसीको छैटौ अामरण अनसनका दौरान वहाँको विग्रदो स्वास्थ्यस्थितीमा तपाईँ समक्ष केहि जिज्ञासाहरु राख्न चाहान्छु।

१. यदी तपाईँलाई बोध छ कि तपाईँ र ६०१ सभासदहरु म जस्तै नागरिकको दैनिक कमाईको करबाट पोषित हुनुहुन्छ र यसकारण पनि हामीसँग जवाफदेहि हुनुपर्छ भन्ने लाग्छ भने डा. केसीले जनस्वास्थ्यको मुद्दामा छ-छ पटक अामरण अनसन बस्नुपर्ने अवस्था किन अायो? किन यो मुद्दा उठ्ने बित्तिकै यसमा केहि पहलकदमी चालिएन ?

२. संबिधानसभामा बसेर जनताले तिरेको करले तलब खाईरहेकै अवस्थामा व्यापार व्यवसायमा लाग्न पाईने कि नपाईने? पाईन्छ नै भने पनि;सभासदको पद धारण गरेर अाफ्नो व्यक्तिगत र व्यापारिक प्राथमिकता र पायक अनुसार दवाव सिर्जना गर्न कोशिष गर्नु अख्तियार दुरुपयोग हो कि होईन ? यस्तालाई कारवाहीको दायरामा ल्याउन तपाईँ के कारणले खुट्टा कमाईरहनु भएको छ? तपाईंको प्राथमिकता सभासदको लगानी हो कि जनताको स्वास्थ्य?

३. केदारभक्त माथेमा समितिको प्रतिवेदन कार्यान्वयनमा किन खुट्टा कमाउदैछ सरकार? यसको नियोजित उद्देश्य के हो? कि तपाईंले भन्न सक्नु पर्यो यि-यि कुराहरु सान्दर्भिक छैनन् यो-यो कारणले, यसकारण कार्वान्वयनमा जान सक्दैनन्। होईन भने नेपालका ति मुर्धन्य विद्वानहरुद्वारा तयार पारिएको प्रतिवेदन पुर्ण कार्वान्वयनमा जान नसक्नाका कारणहरु जनताले थाहा पाउनु जरुरी छन् कि छैनन् ? के सरकार यति बिघ्न अनुत्तरदायी तरिकाले चुपलागेर बन्न मिल्छ ?

४. सबै काम संसदले नै गर्ने भए अरु सँस्था किन चाहियो, अरु कार्यपालिका किन चाहियो, सबै बन्द गर्दिउँ; अनि सबै एक एक वटा समितीहरु बनाएर सभासदहरुले नै चलाउन्। फेरी सांसदहरु पनि होईनन्, सभासदहरु हुन्। जो अाफुले गर्छु भनेर सपथ लिएर गएको काम गर्ने क्षमता नभएर अहिले सम्म गर्न नसकेर संविधान अाउन सकेको त छैन। अरुले पुर्ण होमवर्क गरेर सम्पुर्ण तयारी गरेर प्रस्तुत प्रतिवेदनको मर्ममै हस्तक्षेप गर्ने कोशिष गर्छन् त्यो पनि अाफ्नो व्यक्तिगत प्राथमिकता र पायक अनुसार भएन भनेर।

५. अाफ्नो क्षेत्रमा बर्षौको अनुभबले खारिएका र सम्पुर्ण नेपालीहरुको बिश्वास कमाएका मुर्धन्य बिद्वानहरुद्वारा तयार प्रतिवेदनलाई चिरफार गरी कुन कार्वान्वयन गर्ने कुन नगर्ने भनेर निर्णय गर्ने तपाईँको समितीका सदस्यहरुको योग्यता के हो? यस बिषयको बिषयगत दक्षता के हो?

६. सभासद भएर आफुले जिम्मेवारी लिएको संबिधान बनाउने काममा असफल रहेका सभासदहरुको आजसम्म देशकै दक्ष सँस्थाको रुपमा रहेको चिकित्साशास्त्र अध्ययन सँस्थानलाई दवाव सिर्जना गर्न कोशिष गर्ने नैतिक धरातल के हो ?

७. कुन मापदण्ड पुरा गरेकोलाई सम्बन्धन दिने र कुनलाई नदिने भन्ने निर्णय गर्ने कार्याधिकार कसको हो? सँसदको कुनै समितिको कुन अाधारमा हो?

८. म पढाएर गुणस्तरीय जनसक्ति उत्पादन गर्न पाँउ, म प्रमाणपत्र बेचेर जनस्वास्थ्य माथि खेलबाड गर्दिन, यसको लागि उपयुक्त बातावरण पाँउ भन्नलाई पनि बारम्बार अामरण अनसन बस्नु पर्नै ?

तर यति कुरा सत्य हो कि म अाफ्नो शरिरलाई कुनै अदक्ष र पैसाको बलले बनाईएका योग्यता विहिन सिकारुहरुको लागि प्रयोगशाला बनेर अाफ्नो ज्यान जोखिममा राख्ने कुरामा कहिले पनि सहमत हुन सक्दिन। यो पनि सहि हो कि, मेरो उपचार गर्न म अरु कसैको रगत-पसिनाले अार्जेको करको रकम खर्च गरेर विदेश गएर उपचार गर्ने कुरा पनि मेरो मनले मान्दैन।

अब तपाईले निर्णय गरेर जनताको अगाडि खुल्ला घोषणा गर्ने बेला अाईसक्यो, तपाईँ डा. केसी र जनताको साथ हुनुहुन्छ कि मेडिकल माफिया र सभासदिय गरिमाको दुरुप्रयोग गर्नेहरुको दवावमा अाएर केसीको मृत्य्युको कामना गर्न अग्रसर हुन थालिसक्नु भयो।

हामिलाई डा. गोविन्द केसीको ज्यान प्यारो छ। उनि जनस्वास्थ्यको लागि राजनितिक संरक्षणको मेडिकल अपराध विरुद्ध लड्ने मषिहा हुन्।

त्यसैले, सबैको धैर्यको सिमा हुन्छ, कसैको भावनामाथी यति पनि नखेल्नुहोला। रबर पनि धेरै तन्कियो भने चुडिने अवस्यभावी छ।

#IamwithDrKC

No comments:

Post a Comment

Spam and offensive messages will be deleted.